काठमाडौं– अस्पतालबाट चुस्त सेवा प्रवाह गर्न तथा गुणस्तर कायमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन महाशाखा प्रमुखहरुलाई अधिकारसहितको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख, समन्वय महाशाखाका प्रमुख र गुणस्तर मापन महाशाखाका प्रमुखलाई अस्पतालबाट प्रदान भइरहेका सेवा चुस्तदुरुस्त बनाउने, सेवाको गुणस्तर नियमन गर्ने र आइपर्ने समस्याको तत्काल समाधान गर्ने, अस्पतालको समग्र व्यवस्थापनमा मन्त्रालयबाट प्रत्यक्ष निगरानी गर्ने गरी कार्यविभाजन छ्ट्याइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई वीर अस्पताल, पाटन अस्पताल, किष्ट मेडिकल कलेज, केएमसी मेडिकल कलेज, नेपाल मेडिकल कलेज र कोभिड–१९ उपचार गर्न मन्त्रालयसँग सम्झौता गरेका निजी अस्प्तालकोे सम्पूर्ण व्यवस्था हेर्ने जिम्मेवारी दिएको छ ।
त्यस्तै, समन्वय महाशाखाका प्रमुख डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालको जिम्मा दिइएको छ। गुणस्तर मापन महाशाखा प्रमुख डा. विकास देवकोटालाई कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, निजामती अस्पताल र कोभिड–१९ को उपचारमा मन्त्रालयसँग सम्झौता नगरेका निजी अस्पतालहरु जिम्मा दिइएको छ ।
अस्पतालका कोभिड वेडहरुको व्यवस्थापन गर्ने, त्यहाँ कार्यरत कर्मचारीको आवश्यकताअनुसार थपघट गर्नेदेखि प्राथमिक उपचार नदिने अस्पताललाई कारवाहीको सिफारिससम्मको अधिकार दिएको छ ।
साथै सम्बन्धित अस्पतालको कोभिड बेड संख्या, हाइ डिपेन्डेन्स वेड र आईसीयूको तथ्यांक अद्यावधिक गर्ने, नियमित समन्वय गर्ने र आवश्यकताअनुसार मन्त्रालयको तर्फबाट व्यवस्थापनमा सम्झौता गर्ने लगाएतका अधिकार दिइएको छ ।