काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज पनि कर्णाली प्रदेशको विवाद समाधानबारे छलफल गरेका छन्।
ओली-दाहालले झण्डै साढे दुई घण्टा बालुवाटारमा छलफल गरे पनि ठोस सहमति भने हुन सकेन।
दाहालको सचिवालयका अनुसार कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका बारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन।
बिहीबार कर्णाली प्रदेशका पदाधिकारी, असन्तुष्ट पक्ष र मुख्यमन्त्रीसमेतको उपस्थितिमा छलफल गर्ने गरी अध्यक्षद्वयको भेटवार्ता सकिएको छ।
अध्यक्षद्वयले कर्णाली प्रदेश इन्चार्ज, सह–इन्चार्ज, पार्टी अध्यक्ष, मुख्यमन्त्री र केही सांसदहरुसँग बिहीबार छलफल गर्ने भएका हुन्।
हिजो पनि दुई अध्यक्षबीच विवाद समाधानका बारेमा छलफल भएको थियो। १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेशको विवाद चुलिएको हो।
यद्यपी हिजो दिनभरको छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने अविश्वासको प्रस्तावबाटपछि हटिसकेका छन्।
मुख्यमन्त्रीसँगको छलफलमा तीन जना मन्त्री र सचेतक दिने सहमति गरेर नेपाल पक्ष पछि हटेपछि ओली पक्षका ८ जना सांसद मात्रै अविश्वासको प्रस्तावको पक्षमा छन्।
ओली निकटका मन्त्रीहरुले राजीनामा दिने तयारी गरे पनि प्रधानमन्त्रीले आफू निकटका नेताहरु मार्फत् निर्देशन दिएर राजीनामा रोकाइसकेका छन्।
विवाद समाधान गर्नकै लागि कर्णाली प्रदेशका पदाधिकारीहरुसँग छलफल गर्ने भन्दै अध्यक्षद्वयले काठमाडौं बोलाएका थिए।
प्रदेश इन्चार्ज पार्टी स्थायी कमिटी सदस्य जर्नादन शर्मा काठमाडौं मै छन् भने अन्य नेताहरु भने आजै साँझसम्म काठमाडौं आइपुग्ने बताइएको छ।