आइतबार, भदौ १४, २०८३

एयरलाइन्सहरुले दसैंमा समेत पाएनन् यात्रु

नजिकिएको दसैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडाैं- दसैंको संघारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दसैंका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दसैंका लागि हवाई उडानमा बुकिङ सामान्य छ । 

काठमाडौंबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौं फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । 

सामान्य अवस्थामा दसैं आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपर्थ्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन ।

नजिकिएको दसैं लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन् । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन । 

भएका बुकिङ पनि काठमाडौंबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएको दसैंका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताए । उनका अनुसार काठमाडौंबाट एकतर्फी बुकिङ सामान्य छ । फर्किँदा आधाभन्दा पनि कम यात्रु हुन्छन् ।

यसपटक दसैंको एक-दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीले बताए । बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको छ ।

सामान्य अवस्थामा दसैंका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो । यो पटक सस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन ।

यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले सधैंको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताउछन् । कोभिड महामारीका कारण यात्रुमा एकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन । 

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैंका लागि सहजै टिकट पाइनेछ । यो गन्तव्यमा बुद्ध र यतीका सानो ३० सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको छ ।

यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दसैंका लागि बुकिङ सन्तोषजनक नभएको बताउछन् ।

अहिले दसैंका लागि टिकट सहज र सस्तो भएको र एकतर्फी कुपेन्सी राम्रै रहेको उनले बताए । श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटकको दसैंका लागि हवाई उडानमा उत्साहजनक नभएको बताए ।

उनका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन । सधैंको तीन/चार दिन दुई/चार उडान थपिने प्रवक्ता शर्माले बताए । भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा दशैँका लागि केही उडान थपिनसक्ने उनको भनाई छ ।

विगतका दसैं, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो । कोभिड–१९ महामारीका कारण छ महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालनमा छ । 

राजधानी काठमाडौंलगायत कतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको छ । महामारीबाट जोखिन यस पटकको दसैंमा विगतकोजस्तो चहलपहल हुनेछैन । सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन ।

सरकारले पनि दसैं जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रह गरिरहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । - रासस

प्रकाशित: Oct 14, 2020| 00:31 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।