पोखरा– तनहुँ घिरिङका जोकबहादुर श्रेष्ठ २०४८ सालमा गाउँमा भएको एउटा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
उनलाई सोही वर्ष फागुन १९ मा जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय सुनायो। अदालतको निर्णयबमोजिम उनले नौ वर्ष ६ महिना १६ दिन कैद सजाय भोग्नुपर्ने थियो।
उनी अदालत र प्रहरीको सम्पर्कमा आएनन्। उनलाई प्रहरीले खोजी गर्याे। भेट्टाउन सकेन। उनको नाम फरारको सूचीमा राखियो। खोजीमा धेरै ध्यान गएन। समय बित्दै गएपछि उनी गाउँ फर्किए।
बुबाको मृत्यु भएपछि घर फर्किएका जोक मंगलबार पक्राउ परेका छन्। फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चालेको जिल्ला प्रहरी कार्यालय तनहुँले उनको बारेमा नखोज्ने कुरै आएन।
उनी घर आएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय, बेलचौताराबाट केही प्रहरी सादा पोसाकमा खटिएर निगरानी बढाए।
मंगलबार काजकिरिया सकेका जोकलाई प्रहरीले तत्कालै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश घिमिरेले बताए।
उनले भने, ‘हामीले जानकारी पाएपछि बारीमा सिभिल ड्रेसमै खटिएर पक्राउ गर्याैं।’ प्रहरीले श्रेष्ठलाई जिल्ला अदालतमा बुझाएको छ।