काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनलाई कारबाही गर्न थालेको छ।
महाशाखाका अनुसार उपत्यकाभित्रमा कारबाही अभियान चलाइएको हो। सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्गयाएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाइका साथ कारबाही गर्न थालिएको हो।
आज मंगलबारमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए।
ट्राफिक नियम उल्लघंन गरी हिँड्ने, दुर्घटना गराई फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न अभियानको थालनी गरिएको ढकालले बताए।
गत आइतबारदेखि कडाइका साथ कार्यान्वयन गरी हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरी नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाइएको छ।
सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था छ।
कारवाहि अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको बिकास समेत गर्ने महाशाखाले जनाएको छ।
सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध पनि गरेको छ।