काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटनाको शैली परिवर्तन भएको बताएका छन्।
प्रदेश नम्बर १ को प्रदेशस्तरीय भर्चुअल सुरक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली परिवर्तन हुन थालेको भन्दै यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।
‘नयाँ चुनौती सफलतापूर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वास लिएको छु’, थापाले भने।
उनले पछिल्लो समय लैंगिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन निर्देशन दिए।
उनले अन्तर्राष्ट्रिय नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाइराख्न आग्रह गरे। अब प्रहरी समायोजन प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने थापाको भनाइ थियो।
गृहमन्त्री थापाले चाडपर्व नजिकएको भन्दै कालोबजारी र महँगी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।
चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन थियो।
गोष्ठीलाई गृहमन्त्रीसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले सम्बोधन गरेका थिए।
गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा स्थिति तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए।
कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएको थियो। मंगलबार भर्चुअल विधिबाट प्रदेश नम्बर १ को सुरक्षा गोष्ठी आयोजना गरिएको हो।