काठमाडौं– नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कर्णाली प्रदेशका दुवै पक्षलाई छलफलमा डाकेका छन्।
कर्णाली प्रदेशमा देखिएको विवाद समाधानबारे छलफल गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको भेटवार्तामा दुवै पक्षसँग छलफल गरी विवाद टुंगो लगाउने सहमति भएको थियो।
सोही सहमतिअनुसार कर्णाली प्रदेशका नेताहरूलाई अध्यक्षद्वयले लिखित रूपमा निर्देशन पठाएर छलफलका लागि बोलाएको बालुवाटार उच्च स्रोतले जानकारी दियो।
अध्यक्षद्वयले कर्णाली प्रदेश इन्चार्ज जनादर्न शर्मा, सह–इन्चार्ज एवम् कर्णाली प्रदेशका सांसद यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतलाई डाकेका हुन्।
‘कर्णाली प्रदेशका पदाधिकारी र संसदीय दलका दुवै पक्षलाई बोलाएर छलफल गर्ने भनिएको छ,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने।
ओली–दाहालको छलफलमा पार्टी महासचिव विष्णु पौडेल र कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी थिए।
कर्णाली प्रदेशमा देखिएको विवाद थप नलम्बाउन भन्दै ओलीले आफू निकट नेताहरु मार्फत् पनि निर्देशन दिइसकेका छन्।
सुर्खेतमा आजै भएको छलफलमा नेपाल पक्षले मन्त्रिपरिषद्को पुनगर्ठनमा सहमति गरेर अविश्वासको प्रस्तावबाट पछाडि हटिसकेको छ।
उक्त सहमतिपछि मुख्यमन्त्री शाहीले नेपाल पक्षीय सांसद कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन्।
कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपा विवाद चुलिएको थियो।