सर्लाही- सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको रकम दसैंअघि नै भुक्तानी गर्न माग गरेका छन् ।
सरकारले केही दिनअघि मात्र यहाँका उखु उत्पादक किसानले पाउनुपर्ने गत वर्षको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीलाई निकासा गरेको थियो ।
सर्लाहीका दुईवटा चिनी उद्योगबाट क्रसिङ भएको तथ्याङ्कका आधारमा उखु किसानले रु २१ करोड ७९ लाख ३८ हजार ६५ पाउन बाँकी छ ।
क्रसिङ सिजन २०७६/०७७ को उखु अनुदान रकम प्रति क्वीन्टल ६५.८ रुपैयाँका दरले किसानलाई अनुदान भुक्तानी गर्न रु २१ करोड ७९ लाख ३८ हजार ६५ आवश्यक रहेकोमा रु २१ करोड ३४ लाख ९५ हजार मात्र प्राप्त हुन आएको कोलेनिकाले जनाएको छ ।
अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु किसानहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरुले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको उनको भनाइ छ ।
दसैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाईदिन आग्रह गर्दै अध्यक्ष मैनालीको नेतृत्वमा गएको अगुवा किसानको एक समूहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अघिल्ला वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यो वर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाको भनाइ छ ।
देशकै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटा चिनी उद्योग रहेपनि गत सिजनमा दुईवटा उद्योगले मात्र क्रसिङ गरेका थिए । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको थियो भने गोडैताको बगदहस्थित महालक्ष्मी सुगर मिलले छ लाख आठ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
किसानलाई विगत वर्षदेखिकै भुक्तानी नदिएकाले पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई भने गत सिजनमा किसानले उखु नै दिएनन् ।