काठमाडौं- ३०० रोपनी जग्गा उपलब्ध गराईदिने झुटो व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौँ भन्दै ठगी गर्नेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-५ पस्र्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका-१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका–१४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका–९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार छन्।
त्यस्तै पोखरा महानगरपालिका-१३ बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा, पोखरा महानगरपालिका-१७ चोरसाँघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका-१३ बाँझपाटन बस्ने २७ वर्षीया सीता सुनार, पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने ५० वर्षीय हर्कबहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदाशंकर छन्।
उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका-१४ बाट र रीता, सीता, हर्क र मौसमलाई पोखरा महानगरपालिका–१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका–१७ बाट प्रहरीले पक्राउ गरेको हो।
स्थानीय मानिसहरुलाई झुटो विवरण देखाएर पोखरा महानगरपालिका-१४ भोटे चौतारामा रहेको ३०० रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनी रकम उठाइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, विभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्य समिति गठन भएको पत्र १ थानसमेत बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।