काठमाडौं– जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवेन पञ्जाबविरुद्ध ६९ रनको जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा हैदराबादका जोन्नी ब्रिस्टब म्यान अफ द म्याच बने भने पञ्जाब पाँचौ पटक पराजित बन्यो।
टस जितेर ब्याटिङ राजेको हैदराबादले सम्पूर्ण ओभर खेल्दै ६ विकेट गुमाएर २०१ रन बनायो। २०२ रनको लक्ष्यका साथ मैदान उत्रिएको पञ्जाब भने १७ औं ओभरको अन्तिम बल अगावै पूरा विकेट गुमाएर १३२ रनमा समेटिएपछि जित हैदराबादको पोल्टामा परेको हो।
५५ बल प्रहार गरेका खेलका म्यान अफ दि म्याच ब्रिस्टबले सतक बनाउन तीन रनले चुके। त्यस्तै, कप्तान डेबिड बार्नरले पनि ५२ रनको अर्धसतकिय पारी खेले। केन विलियम्सलनले अविजित २० रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
पञ्जाबका रवि विश्नोइले तीन विकेट लिए भने अर्शदिप सिंहले दुई विकेट लिए।
जवाफी ब्याटिङमा आएको पञ्जाबका भरपर्दा खेलाडी केएल राहुल र मायंक अग्रवतले क्रमश : ११ र ९ रनमा पेवेलिय फर्किए। तर निकोलस पुरनले ७७ रनको अर्धसतकिय पारी खेल्दै पञ्जाबको केही ओभर सम्हाले। अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
हैदराबादका प्रसिद्ध बलर राशिद खानले तीन विकेट लिए भने खलिल अहमद र टी नटराजनले समान २–२ विकेट लिए।
जितसँगै हैदराबादले अंकतालिकामा सुधार गरेको छ। ऊ ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पञ्जाव २ अंकका साथ तालिकाको पुछारमा यथावत् छ।
अंकतालिकामा समान ८ अंक भएका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल शीर्ष र दोस्रो स्थानमा छन्।