जाजरकोट- जाजरकोटमा कोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पुर्याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराउने गरिएको छ।
जिल्लाका २०२ आधारभूत विद्यालयमा कार्यरत २५ हजार ४५० बालबालिकाले दिवा खाजा खाँदै आएका छन्। वि.सं २०५४ देखि जाजरकोटमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रमद्वारा यो दिवा खाजा विद्यार्थीलाई उपलव्ध हुँदै आएको छ। कोरोनाको प्रभाव नभएको अवस्थामा विद्यालयमा उपलव्ध हुँदै आएको दिवा खाजा अहिले कोभिड–१९ का कारण विद्यार्थीको घरघरमा पुर्याएर व्यवस्थापन गरिएको छ।
जिल्लाका पश्चिम थलह मुख्य गोदामबाट पजारु, स्याला, सानाखोला, देउसुले, तापुचौरलगायत सब डिपोमा ल्याई त्यहाँबाट विद्यालयमा पठाउँदै आइएको छ।
त्यस्तै पूर्वको छेप्का मुख्य गोदामबाट सब डिपोहरु कैना, चोखा, लैलख र लिम्सामा खाद्यान्न ढुवानी गरी विद्यालयमा वितरण गरिँदै आएको छ।
यो कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नून वितरण गर्दै आएको थियो। कोभिड–१९ का कारण ‘घरै बसौँ, खाउ’ भन्ने नाराका साथ शिक्षाका लागि खाद्य कार्यक्रम एकाइबाट साउनदेखि असोजसम्म प्रतिव्यक्ति साढे ६ केजी चामल, डेढ केजी दाल, १ केजी नून वितरण गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटका प्रमुख रवीन्द्रमान सिंह भण्डारीले जानकारी दिए।
दिवा खाजा ढुवानी गर्दा जिल्लाको मुख्य गोदामहरुमा विश्व खाद्य कार्यक्रमले ढुवानी गर्दै आएको छ। मुख्य गोदामबाट सब गोदामसम्म नेपाल सरकारले ढुवानी गर्ने व्यवस्था गरिएको छ। रासस