तनहुँ- तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका १ का स्थानीयवासीले विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन्।
आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्न चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन्।
बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरेका हुन्। स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार–बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न माग गरेका छन्।
झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाको आपूर्तिमा पूर्णक्षति पुगेपछि हाहाकार भएको र पानीको तत्काल व्यवस्थापनका लागि उनीहरुले माग गरेका छन्।
छिटोभन्दा छिटो खानेपानीको पाइप टोलटोलमा विस्तार गरी धारामा पानीको व्यवस्था गर्न तत्काल बजेटको व्यवस्थापन गर्न जोडदार माग गरिएको मागपत्रमा उल्लेख छ।
आयोजनाको कार्यालयद्वारा जडान गरिएका पुराना सडक बत्तीहरुको नियमितरुपमा मर्मत गर्नुपर्ने तथा त्यस्ता बत्ती अन्य स्थानमा पनि विस्तार गर्न माग गरिएको स्थानीय टेकबहादुर गर्जामगरले बताए।
सिनो हाइड्रो कम्पनीले ऋषिङ १ बन्चरेमा निर्माण गरेको क्रसर प्लान्टका कारण कम्पन हुँदा ध्वनी एवं वायु प्रदूषण उत्पन्न भई त्यस क्षेत्रका घरमा क्षति पुगेकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएको भन्दै उचित क्षतिपूर्तिसहित स्थानान्तरण गर्न पहल गरेका हुन्।
त्यसैगरी प्रभावित क्षेत्रका जनतालाई ३३ प्रतिशत राजेगारीको अवसर दिने भनिए पनि त्यो लागू नभएको र केही स्थानीयलाई काममा समावेश गरिएको भए पनि त्यहाँ विभेद गरिएको स्थानीय शिवराज विश्वकर्माले बताए। ज्याला मजदुरीमा मात्रै स्थानीयलाई समावेश गरिएको र अन्य पदमा भने स्थानीयलाई समावेश नगरिएकाले त्यसतर्फ आयोजना सचेत हुनुपर्ने उनले बताए।
‘आयोजनाको पूर्वाधार निर्माणस्थलमा कटान गरिसकेका काठ निश्चित स्थानमा भण्डारणको व्यवस्था गर्न माग गर्दछौँ,’ बेल्टार–बच्याङगौडा सामुदायिक वनका उपाध्यक्ष केशर थापामगरले भने।
समय समयमा प्रभावित क्षेत्रका स्थानीयवासीसँग निश्चित समय तालिका निर्माण गरी सार्वजनिक सुनुवाइ तथा अन्तक्र्रिया गर्नुपर्ने र दोभाषेसहित प्रभावित क्षेत्रका स्थानीयको गुनासो सुन्ने व्यवस्थासहित छिट्टै हेल्प डेस्कको व्यवस्थालगायतका माग स्थानीय बासिन्दाले गरेका छन्।
त्यस्तै सिनो हाइड्रो कम्पनी र काहुँमिलन युवा क्लबबीच खेलमैदान निर्माण गर्ने त्रिपक्षीय सम्झौता भएको तर काम भने हालसम्म पनि थालनी नभएकाले तत्काल आयोजनाले समन्वय गर्नुपर्ने माग क्लबका अध्यक्ष आयुष थापाले बताए।
वातावरणीय मापदण्डविपरीत सेती नदीघाटबाट ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन तथा डम्पिङ गर्दा नदीले धार परिवर्तन गरी वन क्षेत्र कटान गर्नुका साथै प्रस्तावित रङगशाला, शुक्ला मावि, ब्राइट भिलेज बोर्डिङ स्कूल र यस आसपासका बस्तीमा असर पुग्ने सम्भावनालाई समयमै बन्द गर्न अनुरोध गरिएको छ।
सो मागपत्र बुझ्दै आयोजनाका सामाजिक संरक्षण विज्ञ डिल्लीरमण ढकालले यहाँको विकास एकसाथ गर्न नसकिए पनि एकपछि अर्को योजनामा समावेश गर्दै समाधान गरिने आश्वसन दिए।