खोटाङ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ।
केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको करिब दुई वर्षपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जिम्मेवारीसमेत टुङ्ग्याएको हो ।
नेकपाको पालिकास्तरीय समितिको अध्यक्ष र सचिवको टुंगो लगाएको लामो समयपछि असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउनेक्रममा पालिकास्तरीय समितिको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो।
बैठकपछि नेकपा खोटाङले मंगलबार पुष्पलाल पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सचिवालय समितिको बैठकले पारित गरेको निर्णयहरु सार्वजनिक गरेको छ।
पार्टीको प्रचार विभाग प्रमुख जीवन राई (सङ्गीन)ले दिएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज तथा साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दंगालले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा देवी रेग्मीले इन्चार्ज र वीरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुंगेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन्।
नेकपाले क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दीपक पाण्डे ‘आकाश’लाई जिम्मेवारी तोकेको छ। नेकपाले विभिन्न १८ वटा विभागको जिम्मेवारी पनि बाँडफाँड गरेको पत्रकार सम्मेलनमा जनाइएको छ।