काठमाडौं– यसवर्ष पुरानै लुगा लगाएर दसैं मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
दसैंमा नयाँ कपडा किन्ने क्रममा बजारमा भिडभाड बढ्ने र यसबाट कोरोना संक्रमण फैलन सक्ने हुँदा पुरानै कपडा लगाएर दसैं मनाउन मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरनजिकको बजारमा स्वास्थ्यका मापदण्ड अपनाएर अत्यावश्यक सामग्री किन्नमात्रै जानुपर्ने बताए।
बजार जाँदा आफूलाई चाहिने सामग्रीको लिस्ट तयार गरेर एकैपटकमा किनमेल गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। साथै २–४ रुपैयाँ सस्तो हुने लोभमा सिमाना वारी–पारी गरेर किनमेल नगर्न पनि मन्त्रालयको आग्रह छ।
आफ्नो र परिवारको स्वास्थ्यका लागि खानेकुरा घरमै बनाएर खाने, सम्पर्क तथा भेटघाटको लागि अनलाइन तथा टेलिफोनको प्रयोग गर्न मन्त्रालयले भनेको छ।
भौतिक र क्षणिक रमाइलोको लागि स्वास्थ्यमाथि खेलबाड नगर्न प्रवक्ता गौतमले भनेका छन्। ‘दसैंको खुसी साट्ने क्रममा आवतजावत गर्दा कोरोना कोसेली लैजाने जोखिम हुने भएकाले यसपटकको दसैं जहाँ छौं, त्यहाँबाट मनाऔं,’ डा. गौतमले भने।
नयाँ लुगा, मिठो खानेकुरा र जमघटले गर्दा परिवारलाई नै संक्रमणको जोखिम हुने भएकाले सतर्क हुन मन्त्रालयको आग्रह छ। घरबाट बाहिर निस्कँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रवक्ता गौतमले आग्रह गरे।