काठमाडौं– बझाङमा २९ साउनमा भएको बलात्कार घटनामा मिलापत्र गराउने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मष्टा गाउँपालिका–२ खिकालामा भएको बलात्कार घटना गाउँमै मिलापत्र गराउने कार्यमा संलग्न रहेका ६ जनालाई पक्राउ गरिएको बझाङका प्रहरी प्रमुख डीएसपी रुपक खड्काले जानकारी दिए।
‘सोमबार पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौं,’ उनले भने। प्रहरीले स्थानीय झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरालाई पक्राउ गरेको हो।
६ जना नै बलात्कारको घटना मिलापत्र गराइएको कागजमा साक्षी बसेका थिए। ७ असोजमा खिकालाकै १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि २९ साउनमै स्थानीय एक १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।
सो घटना गाउँमै मिलापत्र गराइएको रहस्य बोहरा पक्राउ परेपछि खुलेको हो। ३१ साउनमा आफन्त र छरछिमेकी मिलेर ५ सयमा उक्त घटनामा मिलापत्र गराएका थिए।
७ असोजमा बोहराले बालिकाको बलात्कारपछि हत्या गरेको घटना बाहिरिएपछि यसअघिको बलात्कारको घटना बाहिरिएको हो। ती बालिकाले पनि जाहेरी दिएपछि प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ।
डीएसपी खड्काले बलात्कारको घटनामा मिलापत्र गर्नेविरुद्ध पनि आवश्यक अनुसन्धान गरेर एकैसाथ अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइने बताए।