महेन्द्रनगर- विगतका वर्षमा दशैं र तिहारको मुखमा घर बाहिर रहेकाहरु घर फर्कने गर्थे। यस बर्ष भने कारोना महामारीका कारण केही महिना अघि भारतबाट आएकाहरु पनि दशैं, तिहारको मुखमा मुग्लान जाने क्रम रोकिएको छैन।
बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत फर्कने क्रम जारी छ। कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै दुई सय ३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन्।
‘विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो,’ जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘यो वर्ष मजदूरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन।’
सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य भारत हो। कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए। गाउँमा रोजगारी नपाएर परिवार पाल्नै समस्या भएपछि उनीहरु कोरोना कहरकै बीच रोजगारीका लागि पुनः भारत जाने क्रम गत महिनादेखि सुरु भएको हो।
त्यसैगरी लालाबालासहित भारतको पञ्जाब गइरहेका भीमदत्तनगरपालिका ९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताए।
‘छोराछोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन्,’ उनले भने, ‘ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान्। यहाँ बसेर त ज्यान पाल्ने गाह्रो भयो।’ सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवालाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ तर भारत जाने क्रम भने रोकिएको छैन।
कञ्चनपुर उद्योग वाणिज्य संकका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवा बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए। उनले विपन्न समुदायमा छाक टार्नसमेत धौ धौ हुने स्थिति देखिन थालेको बताए।
-रासस