शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग 

व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग 

पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ। 
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

पोखरा– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ। 

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आसमा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको बताए। 

‘मृत्युपछि ओखतीको काम हुँदैन’, अध्यक्ष अधिकारीले भने, ‘घोषणाका लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने संघको माग छ।’ 

उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै सरकारले आव २०७७÷०७८ को मौद्रिक नीतिमार्फत घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए। 

लकडाउन र निषेध आदेश खुले पनि उद्योग÷व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो। 

अध्यक्ष अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको विषतमताकै बीच कतिपय व्यवसायी पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा रहेको बताए। 

मेलाबाट नौ लाख वचत 

पोखरा उद्योग वाणिज्य संघले गत वर्ष गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट नौ लाख रुपैयाँ वचत भएको जनाएको छ।

अध्यक्ष अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार गरी ९८ लाख २३ हजार आम्दानी गरेको थियो। 

सबै खर्च कटाउँदा वचत रकम कम भएको उनले जानकारी दिए। संघले बचतका लागि मेला आयोजना नगरेको प्रस्ट पार्दै अध्यक्ष अधिकारीले उद्यमशीलता विकास तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउनु मेलाको उद्देश्य भएको जिकिर गरे। 

उनले  कोरोनाका कारण आम्दानीका हिस्सा अझै संघको खातामा नआएको जनाउँदै भुक्तानी पनि फरफारक हुन नसकेको प्रस्ट पारे। 

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेला र महोत्सवको प्रवर्तक संघले कोरोना कहर सकिनासाथ मेलाको  आयोजना गर्ने जानकारी दिए। 
उनले कोरोना कहर नसकिएकाले सुरक्षित रहँदै व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह गरे। 

संघका महासचिव अर्जुन पोखरेलले लामो इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको हकहितका साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको स्मरण गरे। 

पोखरा उद्योग वाणिज्य संघले २०७६ पुस १८ देखि २८ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो। 

प्रकाशित: Oct 05, 2020| 13:29 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्