काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज १७ औं र १८ औं दुई खेल हुँदैछन्। आज (आइतबार) पौने ४ बजे हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादको सामना गर्नेछ।
युएईको शरजहामा हुने पहिलो खेलबाट मुम्बई इन्डियन्स शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ भने हैदराबाद पनि तेस्रो जित निकाल्दै शीर्षस्थानको दौडमा रहनेछ।
दुवै टिमले अहिलेसम्म २–२ खेल जितेका छन्। पछिल्लो खेलमा त मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको थियो। त्यस्तै हैदराबादले चेन्नईलाई ७ विकेटले हराएको थियो।
आईपीएल इतिहासमा मुम्बई र हैदराबाद १४ पटक भेट भएका छन्। जसमा मुम्बई र हैदराबादले समान ७–७ जित निकालेका छन्। आईपीएलमा मुम्बई सर्वाधिक सफल टिम हो। उसले चार पटक उपाधि जितेको छ भने हैदराबादले दुई पटक उपाधि जितेको छ।
दोस्रो खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेवेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। दुई टिमबीच भिडन्त पौने ८ बजे दुबई रंगशालामा सुरु हुनेछ।
यी दुवै टिम अघिल्लो खेलमा (दिउँसोको प्रतिस्पर्धामा उत्रने टिम)ले हराएका टिम हुन्। पञ्जाब साविक विजेता मुम्बईसँग हारेको थियो भने चेन्नईले हैदराबादसँग हारको सामना गरेको थियो।
यससँगै अन्य दुई खेलमा पनि हारको सामना गरेर एक खेल मात्र जितेका दुवै टिम अंकतालिकाको पुछारमा छन्। दुवै टोलीको समान २ अंक छ। तर रन रेटका आधारमा चेन्नई पुछारमा रहँदा पञ्जाब एक स्थान माथि छ।
आईपीएलमा चेन्नई र पञ्जाब २२ पटक भेट भएका छन्। जसमा १३ खेल चेन्नईले जितेको छ भने ९ खेलमा मात्र पञ्जावले कब्जा जमाएको छ।
८ पटक आईपीएल फाइनलमा पुगेको चेन्नईले तीन उपाधि जितेको छ। पञ्जाबले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन।
सम्भावित प्लेइङ ११ः
चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान), शेन वाट्सन, अम्बाती रायडू, फाफ डू प्लेसिस, केदार जादब, ड्वेन ब्राभो, रविन्द्र जाडेजा, सम करन, शार्दुल ठाकुर, पियुष चावला र दिपक चाहर
पञ्जाबः लोकेश राहुल(कप्तान), मयंक अग्रवाल, निकोलस पुरन, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल, जिमी निशम, मुरुगन अश्विन, रवि विश्नोइ, मोहम्मद, शमी, शेल्डन काटरेल
शारजहा र दुबई रंगशालाको आकास सफा रहने पूर्वानुमान छ। त्यस्तै, मैदान वरपरको तापक्रम २७ देखि ३८ डिग्री सम्म रहनेछ। दुवै ठाउँ ब्याट्स्मेनका लागि सहज हुनेछ भने स्लो विकेट भएका कारण स्पिनर्सलाई सहयोग मिल्नेछ।
दुवै मैदानमा टस जित्ने टिमले ब्याटिङ गर्न रुचाउनेछ।