धनगढी– कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण धेरैको जीवन अस्तव्यस्त भयो।
व्यापार–व्यवसाय ठप्प भयो। धेरैले रोजगारी गुमाए। श्रमिकलाई हातमुख जोर्न समस्या भयो। सरकार रमितेजस्तै भयो। कोरोना भाइरस परीक्षणको दायरा बढाउन सकेन।
क्वारेन्टिन व्यवस्थित नहुँदा संक्रमित थपिने क्रम रोकिएन। रोजीरोटी गुमेका नागरिकको आहतमा मलम लगाउनुको सट्टा सत्तामा बसेकाहरूले महामारीलाई अवसरका रूपमा लिए। औषधि उपकरणमै भ्रष्टाचार भएको विवरण सार्वजनिक भयो।
कतिपय वर्षौंदेखि गर्दै आएको पेसा छाड्न विवश भए। अनि कतिपयचाहिँ सरकारको मुख नताकी आफैंले अर्को व्यवसाय रोजे। यस्तै वैकल्पिक पेसा रोजेर स्थापित हुन खोग्दै छन् धनगढीका केही युवा। बिस्तारै फरक पेसा व्यवसायमा स्थापित हुन खोजेका उनीहरू जाँगर भए जस्तोसुके विपत्तिमा पनि बाँच्न कठिन नहुने बताउँछन्।
यस्तैमध्येका एक हुन् धनगढी उपमहानगरपालिका–५, हसनपुरका नरेन्द्र शाह। उनले हालै धनगढीमा निष्कर्ष मिट मार्ट एन्ड प्रोसेसिङ हाउस सञ्चालनमा ल्याएका छन्। ३२ वर्षीय नरेन्द्र शाहले होटेल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्। उनी कैलाली बहुमुखी क्याम्पस र नेपाल वेस्टर्न एकेडेमीमा होटेल म्यानेजमेन्ट पढाउँछन्।
कोरोना कहरका कारण क्याम्पस बन्द छ। त्यसैले उनको दैनिकी परिवर्तन भएको छ। नरेन्द्र बिहानै उठेर पसल खोल्न पुग्छन्। पानी तताउँछन्। कुखुरा भुत्ल्याउँछन्। अर्डरअनुसार मासु काटेर ग्राहकलाई दिन्छन्।
झन्डै १५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको निष्कर्ष मिट मार्टमा लोकल, ब्रोइलर कुखुरा, खसी, कडकनाथ र बट्टाईको मासु पाइन्छ।
पसलमा मासु काट्दै गरेको अवस्थामा भेटिएका नरेन्द्र शाहले भने, ‘काम सानो ठूलो हुँदैन। काम गर्न लाज पनि मान्नु हुँदैन।’
यस्तै कैलाली बहुमुखी क्याम्पसमा प्रशासन फाँटमा कार्यरत पुष्कर पन्तले पनि हालै फोल्ट्री फर्म सञ्चालनमा ल्याएका छन्। उनले फार्ममा झन्डै एक करोड रुपैयाँ लगानी गरेका छन्।
सुदूरपश्चिमका सबै जिल्लामा अण्डा पुर्याउने उद्देश्यले फार्म सञ्चालन गरेका पन्तलाई मागअनुसार अण्डा पुर्याउन भ्याइ–नभ्याइ छ
धनगढीको बसपार्कमा रहेका एडुपल नेपालका कम्प्युटर शिक्षक दिलीप चौधरीले पनि पेसा परिवर्तन गरेर जीवन निर्वाह गर्न थालेका छन्।
लकडाउनपछि उनको शैक्षिक संस्थासमेत बन्द भयो। घर खर्च चलाउन समस्या भयो। अनि उनी कैलालीको कैलारी गाउँपालिका–७, भुँइयाँफाँटाका चौधरीले धनगढी उपमहानगरपालिका–७, मनेहरास्थित न्यु बेहडा बाबा ग्रिल सटर उद्योगमा काम गर्न थाले।
कम्प्युटरको किबोर्ड र माउस हुने दिलीपको हातमा अहिले हथौडा, घनलगायतका औजार हुन्छन्। ‘लकडाउनका कारण शैक्षिक संस्था बन्द भयो। घर खर्च चलाउन समस्या भएपछि फरक पेसा रोजेको हुँ’, चौधरीले भने।
एडुपल नेपालमै लेखा पदमा रहेर काम गर्दै आएका राजकुमार डगौरा पनि लोकल कुखुरा पालनमा जुटेका छन्। लकडाउनका बेला कार्यालय बन्द भएपछि घर गएका राजकुमारले खाली बस्नुभन्दा केही गर्नुपर्छ भनेर कुखुरा पालनमा लागेको बताए।
कैलालीको बर्दगोरिया गाउँपालिकाको कुम्हैमा राजकुमारले पहिलो लटमा ५० हजाको लोकल कुखुराको चल्लाबाट व्यापार सुरु गरेका छन्।
उनले दसैंतिहारमा कुखुरा बिक्री गर्ने लक्ष्य राखेका छन्। कम लगानीमा जस्तोसुकै परस्थितिमा काम गर्न सकिँदो रहेछ बन्ने उदाहरण उनी बन्न सफल भएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनयता कैलालीमा करिब सात सय होटल, रेस्टुरेन्ट, रेडिमेड कपडाका पसल बन्द भएको बताए।
लकडाउन र निषेध आदेशले भाडा, बैंकको ब्याज, बिजुलीको महसुल तिर्न समस्या हुँदा धेरैले पसल छोड्न बाध्य भएका छन्। उनले भने, ‘लकडाउनले व्यापार ब्यवसाय खत्तम बनायो।’
बिजुलीबत्तीको बिल, घरभाडा, करमा, बैंक ब्याजदरमा छुटका साथै साना तथा मझौला उद्योगमा सहुलियतका लागि सम्बन्धित निकायसँग पहल भइरहेको कुँवरले बताए।