काठमाडौं– विश्व नम्बर वान टेनिस स्टार नोभाक जोकोविचले अगस्ट–सेप्टेम्बरमा सम्पन्न यूएस ओपनमा गरेको गल्ती नदोहोर्याउने बताएका छन्। उनले फ्रेन्च ओपनमा सहभागी बन्ने क्रममा यस्तो बताएका हुन्।
३३ वर्षे सर्वियन स्टार फ्रेन्च ओपनमा सहभागी बन्न अहिले फ्रान्स पुगेका छन्। उनले आज साँझ पहिलो चरणको तेस्रो खेलमा स्विडिस स्टार माइकल यमेरसँग प्रतिस्पर्धा गर्दैछन्।
उनले खेलमा प्रतिस्पर्धा गर्नुअघि आफ्नो आक्रोेश नियन्त्रण गर्ने बताएका छन्। ‘म पहिले नै यो कुरामा निश्चिन्त हुन्छु कि त्यही गल्ती दोहोर्याउने छैन,’ सर्वियन स्टारले भने।
उनले थपे, ‘म नकारात्मक प्रतिकृयालाई सक्दो कम गर्ने प्रयास गर्नेछु। सायद यो सम्भव छ।’
अमेरिकाको सो घटनालाई लिएर उनले मनमा चिन्ता नलिएको बताएका छन्। ‘मैले सो घटनाबाट कुनै प्रकारको मानसिक चिन्ता अनुभव गरेको छैन। र, अहिलेसम्म खेल्न सफल बनेको छु,’ उनले भने, ‘म न्युयोर्कको घटनाबाट पाठ सिक्दै अघि बढिसकेको छु।’
जोकोविचले न्युयोर्कको सो घटनापछि इटालियन ओपन जितिसकेका छन्। उनले फ्रान्समा हुन लागेको तेस्रो खेलमा यमेरसँग प्रतिस्पर्धा गर्नेछन्। उनी फ्रेन्च ओपन २०१६ को विजेतासमेत हुन्।
के भएको थियो यूएस ओपन २०२० मा ?
चौथो राउन्डको खेलमा लाइन जजलाई टेनिस बलले हिर्काएपछि जोकोविच ‘यूएस ओपन २०२०’ टेनिसबाट निकालिएका थिए।
स्पेनका पावलो क्यारेनो बुस्टासँग ६–५ अन्तरले पछि परेपछि आक्रोशित भएका जोकोविचले गोजीबाट बल निकालेर साइडतर्फ प्रहार गरेका थिए, दुर्भाग्यवश बलले महिला जजको घाँटीमा लाग्न पुग्यो। उक्त घटनापछि जोकोविचलाई प्रतियोगिताबाट निकालिएको हो।
‘ग्राण्डस्लमको रुलबुक अनुसार उनले जानाजान र खतरनाक तरिकाले हिर्काउने र कोर्टमा लापरवाही तरिकाले खेलेका कारण रेफ्रीहरुले उनलाई यूएस ओपन २०२० बाट बाहिर पठाएका छन्,’ युनाइटेड टेनिस संघले एक सूचनामा भनेको थियो।