काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)का कप्तान विराट कोहली जरिवानामा परेका छन्। उनले इन्डियन प्रिमियर लिग(आईपीएल)लाई १२ लाख भारतीय रुपैयाँ जरिवानास्वरुप तिर्नुपर्ने भएको छ।
आईपीएलले उनलाई स्लो ओभर–रेटका कारण जरिवाना गरेको बताएको छ। ‘रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले स्लो ओभर–रेट को आचार संहिताका आधारमा १२ लाख रुपैयाँ जरिवना तिर्नुपर्ने छ,’ आईपीएलले जारी गरेको सूचनामा भनिएको छ।
बिहीबार राति सम्पन्न पञ्जाबविरुद्धको खेलमा कोहलीले आचारसंहिता उल्लंघन गरेका कारण आईपीएलले कारबाही गरेको हो। आईपीएलको जारी सिजनमा यो पहिलो कारबाहीसमेत हो।
गएरातिको खेलमा उनले लज्जास्पद प्रदर्शन गर्दैै एक रनमै आउट भएका थिए भने १७ औं र १८ औं ओभरमा २ क्याच गुमाएका थिए।
गएरातिको खेलमा बैंग्लोरले किंग्स इलेवेन पञ्जावसँग ८७ रनको हार बेहोरेको थियो। सो खेलमा पञ्जावका कप्तान के एल राहुलले सर्वाधिक १३२ रन बनाएका थिए।
के हो स्लो ओभर–रेट ?
टी–२० को एक इनिङको लागि औषत समय ७५ मिनेट रहेको छ। जसमा टिमले ढिलो गरी बलिङ गरे खेललाई अनावश्यक लम्ब्याएमा स्लो ओभर–रेट को नियम अनुसार आयोजकले कारबाही गर्नसक्छ।
तर यसमा खेलाडी गम्भीर चोट लागी घाइते भए, खेलाडीको ट्रिटमेन्ट, ब्याटिङ साइडका खेलाडीले गरको ढिलाइ र बलिङ गर्ने साइडको नियन्त्रण भन्दा बाहिरको ढिलाइले भने यो समयमा गणना गरिँदैन।