पोखरा- बिहान उज्यालो भएको थियो। परिवारका सबै ब्युँझिसकेका थिए।
कोही घरधन्दामा लागे पनि चिसोचिसो भएका कारण धेरैजना सिरकभित्रै थिए।
१६ वर्षीया मनीषा नेपाली पानी लिन भन्दै गाग्रो लिएर ढोकामा के पुगेकी थिइन् माथिबाट गड्याङगुुडुङ आवाज आयो।
यताउता हेर्न नपाउँदै पहिरोले घर गर्ल्याम्मै ढाल्यो। मनीषालाई घरले पुर्न पाएन। पहिरोले निकै तल हुत्यायो। उनको खुट्टामा गहिरो चोट लाग्यो।
परिवारका सदस्य कहाँ छन् पत्तै पाइनन्। पाऊन् पनि कसरी? सँगै सुतेका नौ जना सबै घरसँगै पुरिए। मनीषाको पनि कम्मरमुनिका भाग पुरिएको थियो।
स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरो जाँदा मनीषाको ज्यान त जोगियो, उनले आमा, ठूलीआमा र सानीमासहित परिवारका नौ सदस्य गुमाइन्।
मनीषाको अहिले पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनी खतरामुक्त छिन्।
एसईई दिएर बसेकी मनीषाका दुई दिदीको बिहे भएर बुटवलतिर छन्।
नौ वर्षअघि बाबु गुमाएकी उनले यसपालि एक दाजुबाहेक सबै सदस्य गुमाइन्। माइलो दाइ भारतको मुम्बईमा रहेका कारण जोगिए।
जेठा दाजु दीपक परियार, साइँला दाइ कुलदीप र भाउजू अनि कुलदीपका ६ महिने छोरा पनि पहिरोमै परे। मनीषाका दुई आमा थिए। दुवै आमा सहोदर दिदीबहिनी हुन्। पहिरोबाट दुवै आमा बच्न सकेनन्।
मलमास बार्न सानिमासासू उमाकलाको घरमा गएकी थिइन् मनिषाकी साइली भाउजू विनिता। उनलाई लिएर उमाकला असोज ५ गते उनको घरमा आएकी थिइन्।
कुलदीप र विनिता काखको छोरो लिएर एकदुई दिनमै बुटवल जाने तरखरमा थिए। बुटवलको यात्रामा निस्कन नपाउँदै उनीहरु संसारबाट बिदा भए।
बाटोमुनि रहेको एकपाखे कच्ची घर पहिरोको जोखिममा थियो। ठूलो पानी परेका बेला मनीषाको घरकै सबैजना कहिले नजिकैको स्कुल त कहिले आफन्तको घरमा बास बस्न जान्थे।
बुधबार साँझ मनीषाले कुखुरो लिएर आउँदा छिमेकीले कुखुरो खाए पनि सुत्न भने स्कुलमै जाऊ है भने भनेका पनि थिए।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘सानो घरमा धेरैजना जम्मा भएर सँगै खाना खाएर सुतेका रहेछन्, बिहानीपखको पहिरोले घरै पुरेछ।’
रातभर पानी परेकै कारण पहिरो जाने डरले उनीहरू जागा बसेको स्थानीयलाई उद्धृत गर्दै क्षेत्रीले बताए।
क्षेत्रीका अनुसार पहिरोले तलतिर एउटा गोठ पनि पुर्दा एउटा गोरु मरेको छ। दुई घर खतरामा रहेका कारण त्यहाँका परिवारलाई अन्यत्रै सारिएको उनले बताए।
पहिरो गएको थाहा पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलसमेतको टोली खटिएर तत्काल उद्धारमा जुटेको थियो।
मृतक सबैको पोस्टमार्टम सकिएको र शुक्रबार रामदीघाटमा सामूहिक दाहसंस्कार गरिने भएको छ।
स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा पहिरोले बिहीबार बिहानै घर पुर्दा १६ वर्षीय विष्णुबहादुर परियार (दमै) को मृत्यु भएको प्रहरीले जनाएको छ।
वालिङ पहिरोका मृतक
नाम उमेर
सानी नेपाली– ६०
माया नेपाली– ४८
दीपक नेपाली– ३०
उमाकला नेपाली – २७
कुलदीप नेपाली – २१
विनिता नेपाली – १९
विक्रम नेपाली – १४
विवश नेपाली – ९
काखे बालक ६ महिनाको