काठमाडौं- गृह मन्त्रालयले रौतहटमा हिरासतमै मृत्यु भएको घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखसहितका प्रहरी कर्मचारीहरुलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
गरुडा नगरपालिका– ८ का १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि गृहले कारबाही गर्न निर्देशन दिएको गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए।
‘छानबिन समितिको प्रतिवेदनपछि गृहले प्रहरी प्रधान कार्यालयलाई कारबाहीका लागि केही दिनअघि निर्देशन दिएको हो,’ उनले भने, ‘प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ।’
घटनापछि गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख उपसचिव दोरेन्द्र निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो।
प्रतिवेदनमा रौतहटका तत्कालीन एसपी रविराज खड्का र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी ज्ञानकुुमार महतोले जिम्मेवारी बहन गर्न नसकेको उल्लेख छ।
प्रतिवेदनमा प्रहरी नियमावली अनुसार कारबाहीका लागि सिफारिस गरिएको छ। विजय रामको मृत्यु प्रकरणपछि प्रहरी प्रधान कार्यालयले एसपी खड्को जिम्मेवारी खोसेको थियो। त्यस्तै डिएसपी महतोलाई पनि जिम्मेवारीबाट हटाएर प्रदेश नम्बर २ प्रहरी कार्यालयमा झिकाइएको थियो।
उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नवीनकुमार सिंह र हवलदारद्वय फिरोजमिया धुनिया र मन्नुकुमार सिंह यसअघि नै निलम्बनमा परिसकेका छन्।
त्यस्तै रुपक कुशहवा र अजय यादवलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।