ताप्लेजुङ– हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता कारोनाको जोखिम बढेको छ।
केही दिनयता ह्वात्तै चहलपहल बढे पनि कोभिड १९ को संक्रमण कम गर्न पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन।
सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको हो।
बजार क्षेत्रमा हिडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन्। सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन ।
‘यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम बढ्ने देखिन्छ,’ स्थानीय बिबिहाङ वनेमले भने।
ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको सङ्ख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका छन।
तर अधिकांश मानिस स्वास्थ्य सतर्कता विना नै हिडडुल गरिरहेका छन् ।
‘अहिले सबैतिर खुलमखुल्ला छ, गाडी चलिरहेका छन्, स्कुल खुल्न थाले अब कति डराएर बस्नु, मास्क लगाउँदा उल्टै समस्या होला जस्तो हुन थाल्यो,’ मास्कविना नै बजार क्षेत्रमा हिँडिरहेका एक जना सर्वसाधरणले भने।
यी सर्वसाधरणले मात्रै होईन केही सामाजिक दायित्व र जिम्मेवारीमा रहेका मानिसले समेत कोरोना केही होईन, के को मास्क ? नो स्यानिटाईजर भन्ने गरेका छन्।
यता केही दिन अघिसम्म सरकारी तथा गैरसकारी कार्यालयले कार्यालय परिसरमा साबुन पानी राख्ने गरे पनि अहिले छाडिएको छ।
चाडबाड नजिकिएकाको र स्कुल कलेजसमेत बन्द रहेकाले राजधानीसहित तराईका क्षेत्रमा रहेका युवा विद्यार्थी घर फर्किन थालेका छन्।