विराटनगर- सीमा अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने सहमति भएको छ।
भारतको जोगवनी भन्सार कार्यालयमा बुधबार बसेको सुरक्षा अधिकारीको बैठकमा सबैखाले अपराध नियन्त्रण गर्न एकअर्कामा समन्वय र सहकार्य गर्ने सहमति भएको हो।
अढाई घण्टासम्म चलेको बैठकमा सीमा क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा पनि छलफल भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। सबैखाले अपराध नियन्त्रण गर्न एक देशका अधिकारीले अर्को देशकालाई सहयोग गर्ने सहमति बैठकमा भएको एसपी खड्काले बताए।
सुरक्षा अधिकारीबीचको सम्बन्धलाई थप विस्तार गर्दै सुदृढ बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ। उनका अनुसार दुई देशका सुरक्षा निकायबीचको सहमतिबिना सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण चुनौतीपूर्ण बनेर जाने विश्लेषण गरिएको छ।
भारतीय सुरक्षा अधिकारीले नेपाली पक्षलाई भारततर्फ हुने न्यून गुणस्तरको र अवैध मदिरा ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। बिहारमा मदिरा प्रतिबन्ध छ। तर पनि भारतीयहरु मदिराका सेवन गर्न नेपाल छिर्ने र अवैध रुपमा मदिरा भारततर्फ ओसारपसार हुने गरेको भन्दै भारतीय पक्षले नियन्त्रणका लागि सहयोग मागेको हो।
भारतको बिहारमा निकट भविस्यमा हुने निर्वाचनका लागि सहयोग गर्न भारतीय अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेका छन्।
बैठक कारोना संक्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ, तस्करी, अवैध मुद्रा, लागुऔषध र मदिराको अवैध ओसारपसार, साना हतियारको कारोबार, मानव बेचबिखन, चौपायको तस्करी रोक्ने विषयमा केन्द्रित थियो।
कोरोना संक्रमण नियन्त्रण गर्न दुई देशका सीमानाका सिल रहेको र आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको विषय नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षलाई अवगत गराएका छन्।
भारतीय पक्षले पनि सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्न सबै उपाय लगाइने प्रतिबद्धता जनाएको छ।
बैठकमा भारतका तर्फबाट बिहारको पूर्णियाका डीआईजी विनोदकुमार, सीमा सुरक्षा बल (एसएसवी) का सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्तलगायतको सहभागिता रहेको थियो।
नेपालका तर्फबाट प्रहरी प्रमुखहरु मोरङका एसपी सन्तोष खड्का, सुनसरीका कमल थापा, सशस्त्र प्रहरी बल मोरङका प्रमुख तीर्थ पौडेल सहभागी थिए।