काठमाडौं– बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।
बुधबार बसेको बागमती प्रदेश मन्त्रीपरिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि समेत पास गरेको छ।
कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरीने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
कृषि विकास बैंक मार्फत हुने लगानीले देशमा रोजगार र ब्यबसाय बढ्ने सरकारले अपेक्षा गरेको छ। लगानीपश्चात् सरकारले वेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुर्नउत्थान गरिने मन्त्री ढुंगेलले जानकारी दिए।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागी सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ। यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको छ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने भएको छ।
यसै गरी प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पूर्वाधार, विधेयक, सङ्गठनात्मक संरचना, तथा पाठ्यक्रमको आधारभूत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय समेत गरेको छ।