काठमाडौं– कास्कीमा बाघको छाला र सालकको खपेटासहित एकजना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा सहित धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।
वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा फेला परेको हो।
बरामद सामान सहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।