पोखरा– गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा बनेको विधेयकमाथि मंगलबार संसदमा छलफल सुरु भएको छ। छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको विकासको चिनारी खेलकुदले गराउने भन्दै यसमा लगानी बढाउन आग्रह गरेका छन्।
नेकपा सांसद दीपक कोइरालाले आजको दिनमा खेलकुद खेल्ने र कुद्नेमा मात्र सीमित नरही अर्थोपार्जनसँग पनि जोडिएको बताए। संसारभरका विकसित मुलुकहरुमा आफ्नो मुलुकको झण्डा फहराउने अवसर खेलकुदले दिने भन्दै शक्तिशाली मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने मौका पनि खेलकुदले नै दिने भएकाले यसको बढी महत्व रहेको बताए।
उनले भने, ‘मुलुक कति समृद्ध छ भनेर नाप्ने इन्डिकेटर खेलकुद बनेको छ। विकसित मुलुकहरुले खेलकुदमा ठूलो लगानी गरेका हुन्छन्।’ ब्राजिलको आम्दानीको सबैभन्दा धेरै हिस्सा फुटबल खेलाडीबाट रेमिट्यान्स आउने गरेको दृष्टान्त दिँदै उनले खेलकुदमा लगानी गरेकै कारण ब्राजिल त्यो अवस्थामा पुगेको बताए।
मानिसको स्वास्थ्यको लागि पनि खेलकुद आवश्यक रहेको भन्दै उनले अस्पताल कम गरेर रंगशाला बढाउनुपर्छ भन्ने भनाइ यसै नआएको बताए।
कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले प्रदेशका धेरै खेलाडी यो विधेयकको प्रतीक्षामा रहेको भन्दै पहिल्यै आउनुपर्ने ढिलै भए पनि आएको भन्दै खुसी व्यक्त गरे। प्रदेशलाई अरु प्रदेशसँग र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने सक्षम बनाउने उनको भनाइ थियो।
प्राचीनकालमा यसलाई केबल मनोरञ्जनको माध्यमका रुपमा लिइए पनि यसले युवालाई अनुशासनमा रहन र सत्मार्गमा लाग्न सहयोग गर्ने भनाइ राखे। उनले भने, ‘खेलकुदमा व्यस्त हुने खेलाडी कुलतमै कमै फस्छन्। खेलकुद अहिले स्वास्थ्यसँग जोडिएको छ। राजनेता, कर्मचारी, व्यापारी अहिले कुनै न कुनै खेलमा सहभागी हुने आउने गरेका छन्। खेलकुदले प्रतिस्पर्धात्मक क्षमता विकास गर्छ।’
खेलकुदले भाइचाराको सम्बन्ध विस्तारमा पनि सहयोग पुर्याउने भन्दै यसमा लगानी गर्न डराउन नहुने भनाइ उनले राखे। विधेयक बनाएर र कसैलाई नियुक्त गरेर मात्र खेलकुदप्रतिको दायित्व पूरा नहुने भन्दै पूर्वाधार र प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। उनले भने, ‘म खेलकुदमा लागेर मेरो भविष्य सुनिश्चित छ भनेर गर्व गर्ने अवस्था गण्डकीमा सिर्जना गर्न जरुरी छ।’
केही गठन र नियुक्तिका दफाबारेमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको भन्दै उनले स्थानीय तहसँगको समन्वयका बारेमा यो विधेयकले नबोलेको बताए।
नेकपा सांसद पुष्पा केसी भण्डारीले परम्परागत खेलहरु संरक्षण गर्दै मोबाइलमा भुलिरहेका बालबालिका र युवालाई समेट्ने प्रयास यो विधेयकले गर्न सक्नुपर्ने बताइन्।
राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले युवाले अत्यन्तै रुचाएको र भविष्य खोजेको खेलजगतलाई सबल बनाउन लगानी बढाउनुपर्ने भनाइ राखिन्। नेकपा सांसद विनोद केसीले युवालाई केन्द्रित गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए।
संसदमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले संघ सरकारले विधेयक नल्याएका कारण प्रदेश सरकारले विधेयक ल्याउन नसकिएको बताइन्।
गण्डकी विश्वविद्यालयमा खेलकुदको पाठ्यक्रम समेटिएको भन्दै उनले सरकार प्रदेशलाई खेलकुदमा अब्बल बनाउने प्रयासमा रहेको दाबी गरिन्।