मुग्लिन– नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।
अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए। यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ।
यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीरमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ।
अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो।