काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन्।
ट्वीट गर्दै थापाले सरकारले आफ्नो पतनको बाटो आफैं खनेको बताएका छन्। ‘सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन। तर अनशनरत डा.गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ उनले लेखेका छन्, ‘क्रुर तानाशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।’
त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो, त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय रहेको बताएका छन्।
उनले नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथि राज्यको निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गर्न भनेका छन्।