जनकपुरधाम– प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जिल्ला हुलाक कार्यालय धनुषाबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण कार्य बुधवारदेखि शुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरणको अधिकार प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित हुलाक कार्यालयलाई दिएपछि हुलाक कार्यालयबाट नवीकरण गर्ने कार्य शुरु भएको हो ।
पहिलो प्रेस प्रतिनिधि प्रमाणपत्र जानकी साप्ताहिकका सम्पादक मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको छ ।
पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको उपस्थितिमा हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रेस प्रतिनिधि प्रमाण पत्र प्रदान गरेका थिए ।
यसअघि पत्रकारहरुलाई नवीकरणका लागि काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो । जनकपुरधाम स्थित हुलाक कार्यालयलाई यो अधिकार दिएपछि प्रदेश २ का पत्रकारहरु अब जनकपुरधामबाटै प्रेस प्रतिनिपधि प्रमाण पत्र नवीकरण गराउन सक्नेछन् । तर नयाँ प्रमाण पत्रका लागि काठमाडौँ पुग्नै पर्नेछ ।
यता प्रेस प्रतिनिधि प्रमाणपत्र छपाइका लागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रले हुलाक कार्यालयलाई एक थान प्रिन्टर उपलब्ध गराएका छन् ।