भैरहवा- कृषि पर्यटनको प्रवर्द्धन तथा कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका१७ कानपारामा अजयकुमार चौधरीले भिलेज रिसोर्ट तथा अनुसन्धान केन्द्र सञ्चालन गरेका छन्। ६ बिगाहामा उनले ए क्युब एक्वाटिक रिसोर्ट सञ्चालन गरेका हुन्।
उनले कागती खेती गर्नुका साथै माछा, टर्की, हाँस र कुखुरा पालेका छन्। विभिन्न प्रजातिका फलफूलको बिरुवा पनि लगाइएको सञ्चालक चौधरीले बताए।
६ बिगाह क्षेत्रफलमध्ये ४ बिगाहमा पानी र दुई बिगाह जमिन छ। ०७३ सालमा सुरु भएको उक्त केन्द्रमा ५ वटा पोखरी छन्। अहिलेसम्म करिब साढे ३ करोड लगानी भइसकेको सञ्चालक चौधरीले जानकारी दिए।
उनले ७ प्रजातिका करिब ५०० बोट कागती लगाएका छन्। धेरैजसोले अहिले फल दिन थालेका छन्। कागतीबाहेक विभिन्न औषधिय गुण भएका बिरुवा पनि उनले लगाएका छन्। चौधरीले स्थानीय १४ जनालाई रोजगारीसमेत दिएका छन्।
रिसोर्टमा आउने पाहुनाका लागि स्थानीय थारु समुदायका महिलाले तोरीको तेलमा पकाएको घोंगी, माछाका परिकार, हाँसको छोयला, ढिकरी, दलिया रोटी, चिचर, भुजासहितको रैथाने थारु खानेकुरा बनाउँछन्। पाहुनाको अर्डरअनुसार परिकार तयार गरिने सञ्चालक चौधरीले बताए।
हिउँदमा पोखरीमै बोटिङको समेत व्यवस्था छ। खुला थारु संग्रहालय बनाउने काम भइरहेको र केही वर्षभित्र पानीमाथि नै खाने, पानीमाथि नै नाच्ने, पानीमाथि नै सुत्ने गरी संरचना बनाउने काम अगाडि बढेको सञ्चालक चौधरीले बताए।
बुटवल भैरहवा सडक अन्तर्गत ठुटीपिपल चोकदेखि तरकुल्लाह, करवानी हुँदै पूर्वपट्टि रोहिणी नदीको नजिकै उक्त अनुसन्धान केन्द्र छ।
कृषि तालिम र सडकमा सरकारले सहयोग गरे आफूले धेरै स्थानीयलाई रोजगारी दिन सक्ने चौधरीले बताए।