गलेश्वर- ‘महारानी’ उपन्यासका लागि २०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले
आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताएका छन्।
बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुसी भएको प्रतिक्रिया दिए।
उनले भने, ‘म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि मैले गरेको थिइनँ।’
के छ महारानी उपन्यासमा
तत्कालीन पर्वत राज्यको सांगोपांगो वर्णनको दस्ताबेज हो महारानी उपन्यास। महारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा छ।
तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो। त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ। ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन छ।
उपन्यासमा पर्वत राज्यको इतिहास, यहाँका अनेकन् किम्वदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तु उठान गरिएको छ।
म्याग्दीमा खुसीयाली
बानियाँलाई मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि बानियाँको गृहजिल्ला म्याग्दीमा खुसीयाली छाएको छ। मदन पुरस्कार पाउने बानियाँ साविकको धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुन् ।
साहित्यकार बानियाँको पृष्ठभूमि
साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भीरमुनिमा २००७ साल चैत २५ गते भएको हो।
उनी बुबा हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका कान्छा सुपुत्र हुन्। उनले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र सरस्वती क्याम्पस, ठमेल, काठमाडौंबाट स्नातक गरेका छन्।
उनले २०२४ मा बालबोधिनी प्रावि भीरमुनिबाट शिक्षण कार्य सुरु गरी पौलस्त्य निमावि भीरमुनि, मुक्तिधाम मावि राखु भगवती र मंगला मावि बाबियाचौरमा अध्यापन गराएका थिए।
अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उहाँलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिए।
त्यस समयको प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाका पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन देखाएको भए पनि बानियाँले स्वीकार नगरेको जानकारी कृष्णबहादुर बानियाँले दिए। फलस्वरुप उनलाई लगातार १० वर्ष तारेख थमाइएको थियो।
उनले २०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर २०४४ सालदेखि सङ्गठित सदस्यको रुपमा काम गरे। उनी सुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी सङ्घ’ को अध्यक्ष भए।
माक्र्सवादी सिद्धान्तका ज्ञाता उनले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहेनन्।
विसं २०४६/४७ को जनआन्दोलनका पक्षमा उनी सक्रिय रुपमा सहभागी भए। त्यसपछि नेपालमा विसं २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई विजयी पनि भए।
उनी संसदमा ‘कवि सांसद’ को नामले पनि परिचित थिए।
आफ्नो कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफुलाई उपयुक्त पात्र नठानेको बताउने उनी सङ्गठित राजनीतिबाट अलग भएका थिए।
उनलाई २०५९ भदौ ५ मा तत्कालीन नेकपा माओवादीमा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटकपटक नजरबन्दमा राख्यो। सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उनी २०६१ सालदेखि सपरिवार काठमाडौंमा डेरा गरी बस्न थाले।
उनका पत्नी मित्रकुमारी, छोरा प्रविन र छोरी प्रमिला छन्। उनीहरु १० वर्षको काठमाडौं बसाइपछि पोखरामा कार्यरत छोरा डा. प्रविन बानियाँको अनुरोधमा २०७१ देखि पोखरामा बस्न थालेका छन्। चन्द्रप्रकाशको लेखनशैली पहिलेदेखि नै मिठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकार बताउँछन्।
उनका ऐतिहासिक 'पर्वत राज्य', 'मृत्यु संस्कार : मन्थन' नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो। यसलगत्तै विसं २०७६ मा 'महारानी' ऐतिहासिक उपन्यास प्रकाशित भयो। यी दुवै कृति ‘शिखा बुक्स काठमाडौँ’ ले प्रकाशन गरेको हो। रासस