शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोको त्रासमा बस्ती : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

पहिरोको त्रासमा बस्ती : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन्। 
 |  मंगलबार, असोज ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

पर्वत– निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन्। 

कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू घरमा सुत्न पनि सकेका छैनन्।  पहिरोको डरले साँझ पर्नेबित्तिकै ओछ्यान बोकेर विद्यालयमा पुग्ने गरेका छन् । बिहान उठेर हेर्दा घर नपुरिएको देख्दा लामो सास फेर्दै घरमा फर्किनुपर्ने बाध्यता उनीहरूको छ।  

एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर यो गाउँमा स्थानीय एक बालिकाको ज्यानसमेत गएको थियो। 

पैँतालीस घरधुरी रहेको एकघरेको बस्ती नै पुरिने वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयमा पुगेर सुत्ने गरेका हुन्। 

स्थानीय बालमुकुन्द घिमिरेले वर्षा होलाजस्तो लक्षण देखेमा खाना खाएपछि बस्तीका सबै मानिस बिस्तरा बोकेर विद्यालयमा जाने गरेको र बिहानै उठेर बस्तीमा गएपछि दैनिकी सम्हाल्ने गरेको बताउँछन।  

‘हाम्रो त बिजोग नै भएको छ, पानी पर्लाजस्तो हुनासाथ ४५ घरधुरीका केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै विद्यालयमा गएर सुत्ने गरेका छौँ । बिहान घर त बगेको रहेनछ भन्दै खुशीले घरमा गएर फेरि काम सम्हाल्छौँ,’ उनले भने ।

बस्तीमाथिको भिर चर्किएर झर्न थालेको छ । कतिबेला बस्ती नै पुरिने हो भन्ने टुंगो नभएकाले  घरमा निद्रा न दिनको भोक भएको उनले बताए।  

उनका अनुसार त्यो बस्तीका करिब २७० जनाको यस्तै अवस्था भएको छ। बस्तीबाट करिब एक किलोमिटरमाथि रहेको मन्धराको गुफा भन्ने स्थानबाट पहिरो झर्ने सम्भावना भएपछि गाउँले घर छोडेर हिँड्न बाध्य भएको स्थानीय सुमन गौडेलले बताए। 

पहिरो जान लागेको स्थानबाट झरेका ढुङ्गा बस्तीमै आइपुग्ने गरेकाले राति पहिरो आए जनधनको ठूलो क्षति हुने भएकाले विद्यालयमा आश्रय लिनुपरेको उनको भनाइ छ।

फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पहिरोको जोखिममा रहेका बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया शुरु गरिएको बताए।

अहिलेसम्म यहाँका सातवटा बस्ती तत्काल स्थानान्तरण गर्न नगरपालिकाले संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिसकेको उनको भनाइ छ । सिफारिस भएका गाउँमा उक्त बस्ती छुटेको हुनाले पुनःसिफारिस गर्न सकिने पनि नगरप्रमुख शर्माले बताए।  

पहिरोका कारण वडा नं ४ कै चुरी, वडा नं ३ को पुर्कोट र रुग्दी, वडा नं २ को दरदरे, वडा नं १० को फल्लालगायत गाउँ जोखिममा छन् ।  
-रासस

प्रकाशित: Sep 22, 2020| 03:28 मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।