सर्लाही– जिल्लामा कोरोना भाइरस जितेर घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका २ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरिन।
भनिन, ‘घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईँलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।’
आफू महिला सञ्जालमा काम गर्ने र समाजमा सबै खालका मुद्दाहरू आइरहने उनले बताईन्। ‘समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोरी महसुस भयो,’ उनले भनिन, ‘अनि जाँच गराउँदा कोरोना भएको रहेछ ।’
त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसको उनले सुनाइन्। ‘त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो । फ्याट्ट कोरोना देखियो,’ उनले भनिन्।
त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोना जितेको उनले अनुभव सुनाइन्। बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उनको भनाइ छ।
कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उनले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ।
उनले भनिन्, ‘कोरोना लाग्नेबित्तिकै शुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ। आफ्नो ख्याल गर्ने हो भने कोरोना भनेको केही होइन रहेछ ।’
कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति भने टाढा नै हुन खोज्ने अनुवभ गरेको उनले बताइन्। जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना सङ्क्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।