काठमाडौं- काठमाडौं उपत्यकामा कार्यरत १३ प्रतिशत प्रहरी कोरोना भाइरस संक्रमित भएका छन्।
उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा एक हजार ३३० प्रहरी संक्रमित भएका छन् ।
संक्रमितमध्ये ६ सय ५२ जना निको भइसकेका छन् भने ६ सय ७८ जना उपचाररत रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील यादवले जानकारी दिए। उनका अनुसार उपत्यकाका सबैजसो कार्यालयका प्रहरी संक्रमित भएका छन्।
यस्तै देशैभर ३६ सय २६ जना प्रहरी संक्रमित छन्। यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । अहिले नेपाल प्रहरीमा करिब ६७ हजार कर्मचारी कार्यरत छन् ।
भीड नियन्त्रणदेखि अभियुक्त पक्राउ पर्नेसम्मका काममा खटिँदा संक्रमण सरेको प्रहरीले जनाएको छ। भीडमा हिँड्ने र साँघुरो ब्यारेकमा बस्ने भएकाले प्रहरी संक्रमणको उच्च जोखिममा छन्।
यस्तै नेपाली सेनामा २ हजार १ सय ७५ संक्रमित भएका छन् भने सशस्त्र प्रहरीमा १ हजार ३६ जना संक्रमित भएका छन्।