काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
पेरिसडाँडामा बस्ने भनी तय गरिएको बैठक स्थगित गर्दै भोलि साढे १२ बजे बालुवाटारमा बस्ने भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले ट्विटरमार्फत एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएका हुन् । ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।
हिजो (आइतबार) पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफलमा भएका थिए ।
चार एजेन्डामध्ये मन्त्री हेरफेरको विषयले हिजोको बैठकमा प्राथमिकता पाएको थियो । आजको बैठकमा पनि यो विषयले प्राथमिकता पाउने नेताहरुले बताएका थिए ।