काठमाडौं– नेपाल विद्यार्थी संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएको छ।
संघले केसीका मागलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गरी उनको जीवन रक्षाका लागि सरकारसमक्ष माग गरेको छ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीका मागलाई सम्बोधन गर्नुको सट्टा सरकारले जबरजस्ती अनशनस्थलबाट उठाउने, सत्ता र शक्तिको आडमा गलाउने, धम्क्याउने लगायतका अमानवीय व्यवहार प्रदर्शन गर्नु दुःखद हो।’
सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज पहुँच र विपन्न परिवारका छोराछोरीले सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ जारी सत्याग्रहप्रति संघले ऐक्यबद्धता जनाएको छ।
डा. केसी विगत एक सातादेखि कर्णाली प्रदेशको जुम्लामा अनशनमा छन्।