वीरगन्ज- भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले प्याजको मूल्य तोकेको छ ।
स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु ६५ र खुद्रा मूल्य प्रतिकेजी रु ७५ तोकेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए ।
यो मूल्यभन्दा बढीमा बेच्ने र प्याज लुकाउनेलाई जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्न सुरु गरेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न र कारबाही गर्न सुरु गरेको हो।
वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो ।
भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ट्रक नेपाल भित्रिएको छैन ।
यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए ।
यता प्याजको अभाव हुन थालेपछि सिमावर्ती नाका रक्सौलबाट तस्करहरुले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ ।