काठमाडौं- निकै बिवादका बिच राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा तीनवाट मुद्दा दायर भएको छ ।
उनलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबीसहित आइतबार सर्वोच्चमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन दायर भएका हुन् ।
रिट दायर गर्नेमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि हुन् ।
उनले दायर गरेको रिटमा संविधानको जालसाजीपूर्ण प्रयोग गरेर प्रतिनिधिसभामा हारेको ब्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिएकाले खारेज गर्न माग गरिएको छ।
ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा रहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिएका छन् । उनका अनुसार मुद्दाका विषयमा अध्ययन भइरहेको छ ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई असोज १ गते राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन् ।