काठमाडौं- असोज लागेपछि काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेको छ।
कोरोना संक्रमणबाट चार दिनमा उपत्यकामा १७ जनाको मृत्यु भएको छ।
चार दिनमा उपत्यकामा मात्र दुई हजार ९५५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। यो असोज महिनामा देशभर संक्रमितको आधाभन्दा बढी हो।
यस अवधिमा देशभरमा पाँच हजार ७९५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
असोज १ गते काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी ६१८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।
त्यस दिन देशभर गरी एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयको तथ्यांक छ।
२ गते काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुर ८२ गरी ८५९ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। उक्त दिन देशभरमा गरी दुई हजार २० जनामा कोरोना संक्रमण भएको थियो।
यस्तै ३ गते काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी ७११ जनामा कोरोना भाइरस संक्रमण भएको थियो भने देशभरमा गरी एक हजार २०४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।
आइतबार काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ गरी ७६७ जनामा कोरोना संक्रमण भएको छ। आज देशभरमा गरी एक हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
कोरोना भाइरस संक्रमणबाट आइतबार काठमाडौंमा चार, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको छ।
शनिबार काठमाडौंमा दुई र ललितपुरमा तीन जनाको मृत्यु भएको थियो।
यस्तै २ गते काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो भने १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।
अहिलेसम्म काठमाडौं उपत्यकामा १६ हजार ६१६ जनामा कोरोना संक्रमण भएको छ।
त्यसमध्ये भक्तपुरमा एक हजार ४५२, काठमाडौंमा १३ हजार ६१६ र ललितपुरमा एक हजार ५४८ जनामा कोरोना संक्रमण भएको छ।
देशभरमा गरी आजसम्म ६४ हजार ६४ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ४११ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेले जनघनत्व बढी रहेको र निषेध आदेश खुकुलो भएपछि मानिस आवतजावत बढ्न थालेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको बताए।