काठमाडौं– सत्तारुढ नेकपाले केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ।
पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यलाई दिइने नियमित आर्थिक सहयोगबारे छलफल अगाडि बढाएको हो।
सचिवालयको आइतबार पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय सदस्यलाई दिइने नियमित आर्थिक सहयोगका बारेमा कार्यसूची तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनले भने, ‘पूर्णकालीन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो। केन्द्रीय कमिटीका सदस्यलाई के गर्ने भन्ने विषयमा सचिवालयले तय गर्नेछ।’
प्रवक्ता श्रेष्ठले प्रदेश वा जिल्ला र सोभन्दा तलका कमिटीका सदस्यलाई आर्थिक सहयोग गर्ने बारेमा सम्बन्धित कमिटीले नै निर्णय गर्ने बताए।
हालसम्म नेकपाका कुनै पनि तहका सदस्यलाई भत्ताको व्यवस्था गरिएको छैन। नेकपा केन्द्रीय कमिटीमा अहिले ४४५ सदस्य छन्।
सचिवालयमा संघीय सदस्यको अहिलेको बैठकको भत्ता के गर्ने भन्नेमा पनि छलफल गरिने जानकारी प्रवक्ता श्रेष्ठले दिए।