विराटनगर- शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन्।
कान्तिपुर दैनिकका पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई पत्रकारिता पुरस्कार वितरण गरिएको हो। पुरस्कारको राशी जनही १५ हजार छ।
प्रेस युनियन मोरङले भर्चुअल कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो।
विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार वितरण गरिँदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशी अनलाइन बैंकिङ प्रणाली (आईपीएस) मार्फत् पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए।