डुल्दाडुल्दै स्याल एउटा रुखमुनि पुग्यो। माथि हाँगामा एउटा कौवा ठोंडमा रोटी च्यापेर बसिरहेको थियो। स्यालले माथि हेर्यो। उसलाई लाग्योे– कौवाले गल्तीले पनि मुख खोल्यो भने रोटी तल खस्छ र मैले खान पाउँछु।
उसले कौवालाई भन्यो, ‘भाइ कौवा! तिमी त मुक्त प्राणी हौ, तिम्रो बुद्धि, वाणी र तर्कको सबै कायल छन्। मार्क्सवादमा तिम्रो गहिरो पकड छ। वर्तमान परिस्थितिमा एक बुद्धिजीवीको दायित्वमाथि तिम्रो विचार जान्न पाए हुन्थ्यो। यसै पनि तिमी त्यति माथि बसेका छौ, भाषण दिएर हामीलाई मार्गदर्शन गर्नु तिम्लाई शोभा दिन्छ। मुख खोल प्रिय कौवा।’
संकटको अवस्था थियो। कौवाहरु निकै होसियार थिए। ठोंडबाट रोटी निकालेर बिस्तारै आफ्नो हातले समाउँदै कौवाले भन्यो, ‘स्याल दाइ, शासनले हामी बुद्धिजीवीलाई यो रोटी एउटा सर्तमा दिएको छ– त्यो के भने, हामीले यो रोटी मुखमा राखेर थुतुनो बन्द गर्नुपर्छ। र, अचेल म बढी प्रतिबद्ध भएको छु। उसो त म स्वतन्त्र छु, अचम्म मान्नु पर्दैन समय आयो भने म बोल्छु पनि।’
यति भनिसकेर कौवाले रोटी फेरि ठोंडमा च्याप्यो।
भारतीय प्रसिद्ध व्यंंग्यकार शरद जोशीको यो लघु कथा हिन्दीबाट भावानुवाद गरिएको हो।