शनिबार, भदौ १३, २०८३

साहित्यले समाज र व्यक्तिकाे मन खाेतल्न सक्नुपर्छ : गगनसिंह थापा

ज्ञानमाथि विज्ञानले आक्रमण गर्दा कसरी विश्वको महाप्रलय हुन्छ भन्ने कुरा मैले कृतिमा उठाएको छु। यसमा मानव सभ्यताको पुनरुत्थानको प्रसंग छ।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

गगनसिंह थापा नेपाली आख्यान लेखनमा ३० को दशकदेखि सक्रिय छन्। सुदूरपश्चिम र कर्णालीको आञ्चलिक लोकसंस्कृतिलाई विशेष महत्त्व दिएर आख्यान सिर्जना गर्न रुचाउने थापामा यसअघि ‘सोह्र सौगात’, ‘मेरो मधुशाला’, ‘पुर्खाको चिठी’, ‘कर्णालीको छेउछाउ’, ‘उज्ज्वली’ जस्ता आख्यान कृति प्रकाशित भइसकेका छन्। हालै उनको अर्को उपन्यास ‘महाप्रलय’ प्रकाशित भएको छ। सोही पुस्तकमा आधारित रहेर आख्यानकार थापासँग नेपाल समयले गरेको छोटो कुराकानी–

लामो समयदेखि आख्यान लेखनमा संलग्न हुनुहुन्छ। आख्यान लेखनको प्रेरणा कसरी प्राप्त भयो?

जीवनमा भोगेका सन्दर्भ र समाज विकासका गतिविधि अध्ययन गरेपछि लेखूँ–लेखूँ लाग्यो। देशका केही प्रतिष्ठित साहित्यकारसँगको प्रेरणाले थप ऊर्जा दियो। एउटा कृति प्रकाशित भएपछि राम्रो प्रतिक्रिया पाएँ। अनि समाजलाई आख्यानबाट हेर्न थालें, जुन अहिलेसम्म पनि गरिरहेको छु।

महाप्रलय पनि सामाजिक उपन्यास हो?

सबैभन्दा ठूलो ज्ञान हो। ज्ञानपछि मात्र विज्ञानको जन्म हुन्छ। विज्ञान र अध्यात्मको समन्वय भएर मानव समाज र सभ्यता अघि बढ्छ। ज्ञानमाथि विज्ञानले आक्रमण गर्दा कसरी विश्वको महाप्रलय हुन्छ भन्ने कुरा मैले कृतिमा उठाएको छु। यसमा मानव सभ्यताको पुनरुत्थानको प्रसंग छ। समग्रमा यो मानव समाजमा केन्द्रित कृति हो।

पाठकले महाप्रलय किन पढ्ने?

महाप्रलयमा सामाजिक बिम्ब र धरातलको रूपरेखा स्पष्ट रुपमा कोर्ने प्रयास गरेको छु। यसमा मलाई पनि गर्व लागेको छ। समाजमा भएका अत्याचार, सामाजिक व्यवस्थाको दुर्गतिबारे बुझ्नका लागि यो कृति उपयुक्त छ। आख्यान विधा धेरैको रुचिमा पर्छ। त्यसैले पनि यो कृति पाठकले मन पराउनुहुनेछ भन्नेमा म विश्वस्त छु।

अन्य विधाको भविष्यचाहिँ कस्तो देख्नुएको छ?

अचेल अन्य विधाको तुलनामा कथा र उपन्यास बढी लेखिन्छन् र बढी पढिन्छन् पनि। हुन त आख्यान बढी पढिन्छ भनेर मेरो लेखन यसतर्फ केन्द्रित भएको हैन। अन्य विधाको पनि भविष्य उज्यालो छ। मुख्य कुरा के हो भने स्रष्टाले सर्वप्रथम समाज बुझेको हुनुपर्छ। त्यसलाई जुनसुकै विधाका माध्यमबाट व्यक्त गरे पनि हुन्छ।

तपाईंको लेखनमा सुदूरपश्चिम र कर्णालीको सामाजिक जीवन झल्कनुको खास कारण के हो?

आफू जुन समाजमा बाँचेको छ, स्रष्टाले त्यही समाज राम्ररी बुझेको हुन्छ। मेरो जीवनकाल यतैको सेरोफेरोमा बाँचेको छ। त्यसैले मलाई यताका विषयवस्तु र मानिस बुझ्न धेरै सजिलो भयो। तिनै कुरा साहित्यिक कृतिमार्फत बाहिर ल्याउने प्रयास गर्दै आएको छु।

चार दशक भन्दा लामो साहित्यिक यात्राका क्रममा मोफसलमा रहेका कुनै तिता अनुभव छन् कि?

त्यस्तो केही छैन। मलाई राजधानीमा रहेर साहित्य सिर्जना गरिरहेका स्रष्टाले सधैं सहयोग गर्दै आएका छन्। कतिपयले हौसला दिएका छन्। त्यसबाट मलाई थप ऊर्जा मिलेको छ।

अब कस्तो साहित्य लेखिनुपर्छ?

साहित्य समाजको ऐना मात्र नभएर चिरफार गर्ने एक्सरे हो। साहित्यले त समाज र व्यक्तिको मनलाई गहिरिएर हेर्नुपर्छ। मनोभाव खोतल्नुपर्छ। मनभित्रका कुरा तान्नुपर्छ। समाजलाई राम्ररी बुझेर चिरफार नगरी लेखिएको साहित्य प्रभावकारी हुन सक्दैन। सामाजिक गतिविधि कता जाँदै छ? वास्तविकता के हुँदै छ भन्ने विषयलाई समाजले नै बुझ्ने गरी साहित्य लेखिनुपर्छ। समाजको चित्रण गर्न गर्न सकिएन भने साहित्य हुँदैन।

प्रकाशित: Sep 19, 2020| 02:10 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।