काठमाडौं- साझा पार्टीले प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेको छ।
साझाले यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहासका साथै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको छ।
साझा पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो।'
यसबाट सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको साझाले जनाएको छ।
'संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो,' विज्ञप्तिमा उल्लेख छ।
उसले अब संविधानका अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ।