काठमाडौं- युवामाझ निकै लोकप्रिय बनेको सामाजिक सञ्जाल टिकटकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि जोडिएका छन् ।
करिब एक महिनाअघिबाट टिकटकमा जोडिएका अध्यक्ष प्रचण्डलाई ६ हजार २ सय ९० जनाले फलो गरेका छन् भने उनले २ सय २४ जना फलो गरेका छन् । अगस्ट २० मा पहिलो भिडियो अपलोड गरेका उनले हालसम्म १ सय ५६ वटा भिडियो अपलोड गरिसकेका छन् ।
शान्ति सम्झौता हुँदाको खिचिएको दृष्यलाई उनले आफ्नो पहिलो भिडियोका रुपमा अपलोड गरेका छन् ।
उनले आफूले विभिन्न टेलिभिजनलाई दिएको अन्तरवार्ता, विभिन्न स्थानमा गरिएको भाषण, जनयुद्धका समयमा भएका विभिन्न कार्यक्रमको भिडियो अपलाेड गरेका छन् ।
उनको टिकटक ह्यान्डलमा नेकपा अध्यक्ष । व्यवस्था परिवर्तन गरें अब विकास गर्छु भनेर लेखिएको छ । उनको यो टिकटक आइडी आधिकारीक भएको उनको सचिवालय पुष्टि गरेको छ ।
मदन भण्डारी र बीपी कोइरालाका भाषण पनि उनको टिकटक ह्यान्डलमार्फत अपलोड भएका छन् । भिडियोहरु सचिवालयमार्फत अपलोड गर्ने गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

