काठमाडौं- कोरोनाको महामारी र त्यससँगै सुरु भएको लकडाउनका कारण भारतमा अड्किएको दुईवटा रेल आज नेपाल आउने भएको छ ।
सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको हो ।
नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपालले निकेका यी दुई रेल परिक्षणका लागि मात्रै नेपाल ल्याउन लागिएको हो । परिक्षणपछि रेल पुनः भारत नै फर्किनेछ ।
सञ्चालनमा नआएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ ।
रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर आइपुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।
कोरोनाका कारण रेल चल्ने अनिश्चित
रेलमार्ग तयार भएसँगै रेल किनेर नेपाल ल्याए पनि तत्काल भने सञ्चालन नहुने भएको छ । कोरोनाका कारण तत्काल सञ्चालन नगरिने रेल्वे कम्पनीले जनाएको छ ।
जनकपुरदेखि बर्दिबाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेलमार्गको पहिलो चरणमा जनकपुर–जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी छ ।
दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ ।