शुक्रबार, भदौ १२, २०८३

'नेपालीले धेरै दुःख पाइरहन सक्दैनन्'

‘३५ सय वर्षअघि जतिबेला फलामको प्रयोग सुरु भयो, हाम्रा पूर्वजहरुले त्यतिबेला नयाँ-नयाँ साधन प्रयोग सुरु गरेका थिए। विश्वका विभिन्न ठाउँमा बनेका हतियार हाम्रा पुर्खाले छिटै सिके। त्यही डिएनए हामीसँग छ, जेनेटिक मेमोरी छ।’
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञानलाई सुरक्षाका लागि प्रयोग गर्नुपर्ने बताएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘विज्ञान हरेकको सुरक्षाका लागि प्रयोग हुनुपर्छ। बम बनाउनुभन्दा हिँड्न नसक्ने व्यक्तिका लागि ह्विलचेयरको महत्व बढी हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्छु– विज्ञानलाई भविष्यको सुरक्षाका रुपमा प्रयोग गरौँ र भयरहित विश्व बनाऔँ।’

उनले विज्ञानको विभिन्न प्रयोगले आजको सुन्दर विश्व भोलि अझै सुन्दर बनाउन सकिने भन्दै यसलाई अझै धेरै बस्न लायक बनाउन सकौँ भन्ने आशय व्यक्त गरेका छन्।

नेपालमा २०७० सालबाट असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवस मनाइँदै आइएको छ। सोही अवसरमा प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गर्दै नेपाललाई आधुनिक समृद्ध र सुखी पार्ने प्रतिबद्धता गरेका हुन्।

‘परिवर्तित दुनियाँमा जसले परिवर्तनको गतिलाई समाउन सक्छ, उसले नै विकास गर्न सक्छ। किनभने आज विज्ञानको समय हो,’ उनले भने, ‘विश्वले ठूलो उपलब्धि हासिल गरेका छन्। यसमा हामी पनि रचनात्मक ढंगले सरिक भए पनि पछि परेका छौं। तर हामी पछि पर्न चाहँदैनौं।’

उनले नेपालीहरू बहादुर पुर्खाका सन्तान मात्र नभई हामी बुद्धिमानी पुर्खाका सन्तान भएको बताएका छन्। उनले भने, ‘पहिले राम्रो रहेका हामी (नेपाली) औपनिवेशिक युगमा पछि परेका छौं।’ ओलीले विज्ञानको विकासका लागि वैज्ञानिकले दिएको योगदानको कदर गरेका छन्।

‘विभिन्न वैज्ञानिकहरु चर्चमा दण्डित हुनुपर्ने भएको थियो। यसकारण कतिपय वैज्ञानिकले आफ्नो मृत्युको समयमा मात्र लेखरचना प्रकाशित गरेका थिए। यस्ता धेरै संघर्ष गरेर विज्ञानका नियमहरु बनेका छन्,’ उनले भने, ‘तर विश्वमा विकासको गति असमान भयो। पहिले हामी अघि थियौं, पछि युरोप अघि गयो भने अहिले अमेरिका अघि छ।’

उनले पहिले अनुसन्धातालाई ज्ञानी, ऋषि भनेर चिनिने गरेको बताउँदै ऋषिहरुले गरेका अध्ययन पछि परेको बताए। उनले सर आइज्याक न्युटनले १६८७ मा पत्ता लगाएको गुरुत्वाकर्षणको नियमलाई १२ औं शताब्दीमा भास्कराचार्यले नै पत्ता लगाएको दोहोर्याए ‘उनले नै माथि फालेको चीज पृथ्वीमा फर्कन्छ भनेका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘ऋषिमुनीले नापेको पृथ्वीको गोलाइ नै अहिलेको गोलाइ हो। हाम्रा ज्ञानी, ऋषिमुनिले नै पहिले पृथ्वीले सूर्यलाई घुम्छ भन्ने पत्ता लगाएका थिए।’

यसकारण ओलीले पूर्वीय खोज, अध्ययन र अनुसान्धानलाई पुनः स्थापित गर्नुपर्ने बताए। ‘यो हानथापको कुरा होइन, यथार्थ कुरा हो,’ उनले थपे, ‘हामीले भौतिकदेखि जीव विज्ञानसँम्म हाम्रो भूभाग कसरी अघि थियो भन्ने कुरा विश्वलाई बुझाएर, आजसम्म अनुसन्धान गरेका र प्राप्त गरेका सबै साझा सम्पत्ति हुन् र त्यसलाई सर्वाङ्गिण हितका लागि प्रयोग गर्नुपर्छ।’

विज्ञान र ज्ञानबारे भ्रम सिर्जना हुने भएकाले ओली यसबारे पनि स्पष्ट पार्न खोजेका छन्। उनले भने, ‘ब्रह्माण्डका रहस्यको खोजको रुममा स्थापित गरेको कुरा नै ज्ञानको रुपमा हुन्छ। जुन कुरा मानिसको बुझाइमा आउँछ। यो कहिले भगवानका रुपमा हुन्छ कहिले भूतका रुपमा हुन्छ। त्यो मान्छेको परिधिमा आएपछि ज्ञानका रुपमा परिणत हुन्छ। यो नै इनोेभेसन हो, यो खोज, अध्ययन अनुसन्धान हो।’

प्रधानमन्त्रीले नेपालमा पनि खोजका विषयमा लगानी गरेर धेरै काम गर्नु जरुरी रहेको बताएका छन्। यसबाहेक आवश्यक संस्था स्थापना गरेर गतिशिल बनाएर त्यसबाट प्राप्त प्रतिफलले देशलाई अधि बढाउने उनले बताए।

साथै ६० प्रतिशतभन्दा धेरै रहेको कृषि क्षेत्रको आधुनिकिकरण गरेर उत्पादकत्व वृद्धि गरेर नेपाल आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा नेपाल जाँदै गरेको अवस्थामा विज्ञान र प्रविधिको आवश्यकता रहेको उनले महशुस गरेका छन्।

उनले सबैलाई आ–आफ्नो काम गरेर देशलाई समृद्ध बनाउन अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीलाई पनि देशमा फर्किएर देश विकासमा जुट्न र भूमिको प्रयोग गर्न उनले अनुरोध गरे। ‘भूमि उत्पादन दिने चिज भएकाले कृषि कर्म, पशुपालन गरेर हामीले देशलाई समृद्ध बनाऊँ। यसमा पनि प्रविधिको प्रयोग आवश्यक छ,’ उनले भने।

उनले नेपालीको बानी आयातित वस्तुमा निर्भर रहेको भन्दै विदेशबाट ल्याइएको वस्तुमा जीवन बिताउने भन्दा आफैं उत्पादन गर्ने कुराहरु तर्फ अघि बढ्न सुझाएका छन्। ‘हामीले सियो पनि किन उत्पादन गदैँनौँ ?’ उनले प्रश्न गर्दै भने, ‘हामी धेरै आयातित बन्यौँ। त्यसैले उद्यमशिलतातर्फ अघि बढौँ।’

प्रधानमन्त्री ओलीले थपे, ‘३५ सय वर्षअघि जतिबेला फलामको प्रयोग सुरु भयो। हाम्रा पूर्वजहरुले त्यतिबेला नयाँ नयाँ साधन प्रयोग सुरु गरेका थिए। विश्वका विभिन्न ठाउँमा बनेका हतियार हाम्रा पुर्खाले छिटै सिके। त्यही डिएनए हामीसँग छ, जेनेटिक मेमोरी छ।’

उनले अन्तिममा भने, ‘नेपालीले धेरै दुःख पाइरहन सक्दैन।’

नेपालमा ८ वर्षदेखि मनाउँदै आएको विज्ञान दिवस यो वर्ष केही छुट्टै कार्यक्रम गरेर मनाइएको मन्त्रालयले जानकारी दिएको छ। विज्ञान दिवस मूल समारोह समितिले साइन्स डिप्लोमेसी, रेडियोधर्मी खनिज उत्खननबारे सेमिनारसमेत गरेको बताएको छ।

मन्त्रालयको सहयोगमा खुला विश्वविद्यालय, नेपाल एस्ट्रोनोमिकल सोसाइटी लगायतका संघसंस्थाहरुले विज्ञान दिवसका कार्यक्रममा विभिन्न कार्यक्रम गरेका थिए।

प्रकाशित: Sep 17, 2020| 12:55 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।