पाेखरा- गण्डकी प्रदेशमा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पुस १६ देखियता १०५ जना डेंगु र ५४ जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन्।
प्रदेशका आठ जिल्लामा डेंगु र ४ जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्।
सबैभन्दा धेरै म्याग्दीमा डेंगुका ६४ र स्क्रब टाइफस ४३ जना बिरामी भेटिएका छन्। यस्तै कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपुरमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एकएक जना डेंगुका बिरामी भेटिएका छन्।
बागलुङमा ६, नवलपुरमा तीन र कास्कीका दुई जनामा स्क्रब टाइफस देखिएको छ।
के हो डेंगु?
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ।
डेंगु मानिसबाट मानिसमा सर्दैन। यो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानमा फुल पार्छ।
वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रम, फूलदानी र गमलालगायतका स्थानमा यसले फुल पार्छ। २० देखि ३० डिग्री सेल्सियस तापक्रम लामखुट्टेका लागि उपयुक्त मानिन्छ।
पोखराको तापक्रम अहिले त्यस हाराहारीमै हुँदा संक्रमणको बढेको स्वास्थ्य कार्यालयले जनाएको छ।

